एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्यामा लगातार कमी हुँदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ संक्रमितहरु थपिएको उल्लेख गरिएको थियो ।
त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोना भाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका संक्रमित मध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए ।
भारतमा सोमबार बिहानसम्ममा कुल संक्रमितहरुको संख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित मध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ संक्रमित थपिएका हुन् ।
भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो संख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।
दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा ३७ हजारभन्दा बढी संक्रमितहरु घटेका छन् ।
संक्रमणमुक्त भएकाहरुको संख्या र नयाँ थपिने संक्रमितको संख्या १० हजारभन्दा बढी फरक परेको छ । भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना संक्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ ।
ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसका कारण दैनिक मृत्यु भएकाहरुको संख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो । रासस






