एजेन्सी । बिग बोस ओटीटीको हिस्सा बनिसकेका जीशान खानले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । लामो समयदेखि कुमकुम भाग्यकी कलाकार रेहाना पण्डितसँग प्रेम सम्बन्धमा रहेका उनले एक अर्कालाई किस गरिरहेको रोमान्टिक तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्दै आफ्नी प्रेमिका चिनाएका हुन् ।
जीशानले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘असल मित्रबाट मेरो जिन्दगीको प्रेमसम्म, मेरो खुशीदेखि मनको शान्तिसम्म, तिमी मैले मागेको सबैथोक हौ । हरेक पल जुन म तिमीसँग बिताउँछु, हरेक सास जुन म तिम्रो सामु लिन्छु, मेरो मुटु मायाले भरिन्छ । म चाहन्छु कि हरकोही यस्तो प्रेमको महसुस गरुन् ।’
उनी भन्छन्, ‘जिन्दगीमा हरेक कुरा जादुमय हुन्छ, यो एक परीको कथा भन्दा कम छैन । तिमी मेरी हौ, म दुनियाँसामु यही बताइरहेको छु । आई लभ यू बेबी ।’ जीशान र रेहानाको प्रेम सम्बन्ध सार्वजनिक भएसँगै फ्यानहरु पनि खुशी छन् । फ्यानहरुले याे जोडीको प्रसंसा गरेका छन् ।
जीशानको यो पोस्टमा रेहानाले पनि प्रतिक्रिया राखेकी छिन्, ‘लजाएको पनि छु, भावुक पनि भएकी छु । आई लभ यू बेबी । माया दिएकोमा धन्यवाद । यो प्रेम सदैव रहनेछ ।’ जीशान र रेहानाको उमेर अन्तर ११ वर्षको छ । रेहाना जीशानभन्दा ११ वर्ष जेठी हुन् ।
जीशान र रेहाना दुवै सिरियल कुमकुम भाग्यका हिस्सा हुन् । रेहाना भर्खरै शो मा जोडिएकी हुन् । जीशान भने अहिले उक्त सिरियलमा छैनन् । कुमकुम भाग्यमा रेहाना आलियाको भूमिकामा छिन् । यस्तै जीशान खानले शो मा उनको छोराको भूमिका निभाएका थिए । रेहाना शो मा जीशानकी आमा बनेकी थिइन् ।




