काठमाडौं । नेपाली चलचित्र निर्देशक सुदर्शन थापा र माेडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल बैवाहिक बन्धनमा बाँधिने भएका छन् । भदाै २१ मा इन्गेजमेन्ट गरेका थापा र कटुवालले भाेलि (शुक्रबार) लगनगाँठाे कस्ने भएका हुन् ।
पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा काठमाडौंस्थित तासिखेल इन्द्रायनीमा उनीहरूकाे बिवाह हुँदैछ । शुक्रबार बिवाह र शनिबार साँझ काठमाडौंस्थित बुटिक होटलमा प्रीतिभोज हुनेछ । सुदर्शन र सुप्रिया विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
यसअघि सुदर्शनकाे नाम अभिनेत्री पूजा शर्मासँग जाेडिएकाे थियाे । तर दुवैले प्रेममा रहेकाे कहिल्यै पनि स्वीकार गरेनन् । हुन त पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग पनि जाेडिएकाे थियाे । आकाशसँग पूजाकाे नाम जाेडिँदा दुवैबीच मनमुटाब भएकाे खबर बाहिर आएको थियो ।
सुदर्शनले मेरो एउटा साथी छ, मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्ताे गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी, लगायतका चलिचत्र निर्देशन गरेका छन् । उनले निर्देशन गरेका प्रायः सबै चलचित्र सफल छन् ।
यस्तै सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौँ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।




