काठमाडाैं । चलचित्र निर्देशक शोभित बस्नेत छिन्-छिनमै कुरा फेरिरहन्छन् । विशेषगरी ‘महानायक’ बारे बहस चल्दा त उनकाे बाेलीकाे ठेगान नै हुँदैन । घरी अभिनेता भुवन केसीलाई महानायक दाबी गर्छन् त घरी राजेश हमाल नै हुन् महानायक भन्दै उनको शरण पर्छन् ।
केही दिनअघि भुवन केसी महानायक हुन् भनेका शाेभितले त्यसकाे दुई दिन बित्न नपाउँदै अभिनेता राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएर आफू गलत भएको स्वीकारे । कार्यक्रममा उनले भनेका थिए, ‘चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठुलो कोही पनि रहेनछ । मैले सधैँ महानायक भन्दा सुपरस्टार ठुलो भन्ने ठानेको थिएँ । त्यसैले उहाँलाई सुपरस्टार भनेको हुँ । तर म गलत रहेछु । आजबाट राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’
शाेभित त्यति बाेलेर पनि सन्तुष्ट हुन सकेनन्, उनले राजेश हमालसँगै भेटेर यस विषयमा माफी समेत मागे । अरूबेला गर्जिने शाेभित अभिनेता हमालकाे अगाडी भने चुपचाप रहे, केही बाेल्न सकेनन् ।
भेटमा नायक हमालले शाेभितसँग भनेका छन्, ‘तपाईँलाई नराम्रो हुनु भनेको मलाई पनि नराम्रो हुनु हो । किनकी हामी एउटै क्षेत्रका हौँ । व्यक्तिगत जीवन अलग–अलग भए पनि कलाकारिताले हामी सबैलाई जोडेको छ ।’
शोभितले भने केही बोलेनन्, मुन्टो मात्रै हल्लाइरहे !




