एजेन्सी । आर्यान खान शाहरुख खानका जेठो छोरो हुन् । बलिउड इन्ड्रष्टिका चर्चित बालकमा उनी पनि पर्छन् । यद्यपी आर्यान लाइमलाइटमा रहन मन पराउँदैनन् । आर्यान अहिलेसम्म अवार्ड शो मा समेत गएका छैनन्, उनको सामाजिक सञ्जाल अकाउन्ट समेत लामो समयसम्म प्राइभेट थियो ।
अहिले उनी पक्राउ परेका छन् । उनी पक्राउ परेको खबरपछि बलिउडका ठुलाठुला सेलिब्रेटीहरुले यसको विरोध गरिरहेका छन् । यद्यपी शाहरुख खान भने यस विषयमा अहिलेसम्म बोलेका छैनन् । यस्तोमा आखिर मन्नतमा के चलिरहेको छ त ? सबैलाई चासो हुनु स्वभाविक हो । के भइरहेको छ त मन्नतको बन्द ढोकाभित्र ?
इण्डिया टुडेले शाहरुखका परिवार निकट साथीभाइसँग कुराकानी गरेको छ । स्रोत अनुसार आर्यान खान पक्राउ परेपछि शाहरुख निदाउन सकेका छैनन् । आर्यानकी आमा गौरी पनि निकै चिन्तामा छिन् । स्रोतले भनेको छ, ‘केस यति लम्बिएला भनेर उनीहरुले सोचेका थिएनन् । आर्यान पक्राउ परेलगतै शाहरुखले कानुनी विज्ञहरुसँग कुराकानी गरेका थिए । सतीस मानशिन्देलाई पनि उनले सम्पर्क गरे । मानशिन्देले आर्यान छिट्टै छुट्ने आश्वासन दिएका थिए, तर एनसीबी अनुसन्धानका लागि भन्दै मुद्दा लम्बायो । आर्यानको जमानत निवेदन समेत अदालतले खारेज गरिदियो । यसले परिवारलाई ठुलो झड्का दिएको छ ।’
यो कठिन समयमा गौरीको भाइ विक्रान्त छिब्बर र उनकी श्रीमती नमिता उनीहरुको साथमा बसिरहेका छन् । स्रोतका अनुसार अहिले शाहरुख खान निदाउन सकेका छैनन् । उनी केस फलो गर्न र आर्यानको हालखबर बुझ्न एनसीबीको सम्पर्क गरेर समय बिताइरहेका छन् । स्रोतले भन्यो, ‘गौरी र शाहरुख दिनभरी कयौँ पटक फोन गरेर छोराको स्वास्थ्यबारे बुझिरहन्छन् । आर्यानसँग सिधै सम्पर्क छैन । तर उनीसँग जोडिएका जानकारी परिवारलाई दिइन्छ । अहिले आर्यानको कपडा र घरको खान दिन पनि अनुरोध गरिएको थियो ।’
ड्रग्स केसमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान अझै कम्तीमा तीन दिनसम्म जेलमा बस्नुपर्ने भएकाे छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यो विषयमा एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ । आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् ।
यसअघि ८ अक्टोबरमा मुम्बईको मजिस्ट्रेट कोर्टले आर्यन खानको जमानत याचिका खारेज गरिदिएको थियो । मजिस्ट्रेट आर एम नेरलिकारले आर्यनका वकिल र एनसीबीबीच लामो बहसपछि निर्णय सुनाएको थियो ।
ड्रग्सको यो केसमा एनसीबीले थप २० जनालाई पक्राउ गरेको छ जसमा दुई विदेशी नागरिक पनि समावेश छन् । शनिबार ९ अक्टोबरमा एनसीबीले शाहरुख खानका ड्राइभरलाई पनि सोधपुछका लागि बोलाएको थियो । जानकारीका अनुसार ती ड्राइभरले आर्यन र अरबाज मर्चेन्टलाई क्रुज टर्मिनलमा छोडेको स्वीकार गरेका थिए ।




