एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यान खानले अहिलेसम्म जमानत पाएका छैनन् । चार अक्टोबरदेखि आर्यान नारकोटिक्स कन्ट्रोल ब्युरोका हिरासतमा छन् । आर्यानको जमानतका लागि एनसीबीले विरोध गरिरहेको छ ।
एनसीबीले अदालतमा आफ्नो तर्फबाट कडा तर्क पेस गरिरहेको छ । ड्रग्स च्याट, अन्तर्राष्ट्रिय औषधि विक्रेतासँग सम्बन्ध, लागूऔषध तस्करी लगायतका गम्भीर आरोपहरु लगाएको छ । उता आर्यानका वकिलले आर्यानबाट कुनै ड्रग्स बरामद नभएको तर्क गरिरहेका छन् । ‘आर्यान यस केसमा आफ्नो तर्फबाट सहयोग गरिरहने छन् । यस्तोमा उनको जमानत अधिकार छिन्न सकिँदैन’, आर्यानका वकिलको दाबी छ । अब यस केसमा २० तारिख अर्थात् भोलि सुनुवाई हुनेछ ।
यसैबीच पाकिस्तानी मिडियामा पनि आर्यानको केसलाई लिएर निकै चर्चा चलिरहेको छ । पाकिस्तानको प्रमुख पत्रिका एक्सप्रेस ट्रिब्यूनले एक लेख छापेको छ, जसको शिर्षक छ – आर्यान खानको गिरफ्दारी भारतको सबैभन्दा ठुला मुस्लिम हीरोको निशाना बनाउने कोसिस हो ? उक्त आर्टिकलमा लेखिएको छ, एक लोकप्रिय मुस्लिम अभिनेताका छोरा भएका कारण पनि आर्यानको केस लम्बाइएको छ ।
पूर्व अभिनेता शत्रुघ्न भन्छन्, ‘शाहरुखको छोरा भएकै कारण आर्यानलाई निशाना बनाइएकोमा दुई मत छैन । यस केसमा अरबाज र मुनमुन नामका युवायुवती पनि पक्राउ परेका छन्, तर जताततै आर्यनकै मात्र नाम छ । शाहरुखको छोराको बहानामा उनीहरु आफ्नो पुरानो स्कोर मिलाउन चाहन्छन् ।’ आर्टिकलका अनुसार धेरै मानिसहरु भन्छन् कि आर्यनको मामला एक पटक फेरि यो स्पष्ट गर्दछ कि भारतमा मुसलमानमाथि भेदभावमा उल्लेखनीय वृद्धि भएको छ ।




