एजेन्सी । बलिउड अभिनेत्री शर्लिन चोपडाले हालसालै राज कुन्द्रा र शिल्पा शेट्टीमाथि यौन उत्पीडनको मुद्दा दायर गरेकी थिइन् । साथै उनले ठगीको आरोप समेत लगाएकी थिइन् । अहिले यस केसमा शिल्पा र राजको तर्फबाट प्रतिक्रिया आएको छ ।
यो जोडीले शर्लिन चोपडामाथि मानहानीको मुद्दा दायर गरेको छ । शिल्पा र राजले शर्लिनमाथि ५० करोड रुपैयाँको मानहानी मुद्दा दायर गरेका हुन् । साथै शर्लिनले लगाएको आरोप झुटो भएको पनि उनीहरुले दाबी गरेका छन् ।
केहि दिन पहिले शर्लिनले राज र शिल्पामाथि शारीरिक र मानसिक रुपमा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले मुम्बई प्रहरीमा समेत उजुरी दिएकी थिइन् । अहिले शिल्पा र राजका वकिलले शर्लिनमाथि ५० करोडको मानहानी मुद्दा दायर गरेका हुन् । शिल्पा र राजका वकिलले एक आधिकारिक बयान जारी गर्दै भनेका छन्, ‘शर्लिन चोपडाले शिल्पा र राजमाथि जति पनि आरोप लगाएकी छिन्, ती सबै झुटा र निराधार छन् । यसको कुनै प्रमाण छैन ।’
यसअघि शर्लिन चोपडाले पोर्न रकेट प्रकरणमा राज कुन्द्राविरुद्ध बयान रेकर्ड गरेकी थिइन् । राज कुन्द्रा पोर्नोग्राफी कसेमा दुई महिना जेल बसेका थिए । २१ सेप्टेम्बरमा उनी जेलबाट निस्किएका थिए । पोर्नोग्राफी केसमा राज लामो समय फसेपछि शिल्पाले विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो । उनले केही समय कामबाट ब्रेक समेत लिएकी थिइन् ।




