एजेन्सी । शाहरुख खानको घरमा एनसीबीका अनुसन्धान अधिकारी पुगेका छन् । आर्यान खान पक्राउ परेपछि एनसीबीले शाहरुखको घरमा छानविन गर्ने कुरा उठाइरहेको थियो । यसैबीच एनसीबी टोली शाहरुखको घर पुगेको हो । शाहरूखकाे घर पुगेर एनसीबीले नाेटिस दिएकाे छ । आर्यान ड्रग्स केस आर्यानसँग अन्य इलेक्ट्रोनिक डिभाइस भएमा एनसीबीलाई बुझाउन नोटिसमा उल्लेख छ ।
आजै शाहरुख छोरालाई भेट्न जेल पुगेका थिए । जेलमा कोरोनाका कारण आमने–सामने भेटघाट बन्द थियो । बुधबार महराष्ट्रको जेलबाट कैदी र उनको परिवारबीच प्रत्यक्ष भेटघाट गर्न नपाउने नियमलाई हटाइयो । यस्तोमा शाहरुखले छोरा आर्यनलाई छिटोभन्दा छिटो भेटे र उनीसँग कुराकानी गरे ।
आर्यन खान पछिल्लो १४ दिनदेखि आर्थर रोड जेलमा बन्द छन् । शाहरुखले भिडियो कलमार्फत् छोरासँग कुराकानी गरिरहेका थिए ।
बाउ–छोराबीच कुराकानीका बेला बीचमा सीसा राखिएको थियो । दुबैले इन्टरकममार्फत् कुराकानी गरे । कुराकानी १६ देखि १८ मिनेटसम्म चल्यो । यी दुईबीच कुराकानी हुँदा जेलका अधिकारी पनि उपस्थित थिए ।




