एजेन्सी । छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेदेखि बलिउडका बादशाह शाहरुख खानले फ्यानसँग दुरी बढाउँदै आएका छन् । यस्तै दृश्य आइतबार मुम्बईको निजी एयरपोर्ट बाहिर देखियो, जब शाहरुख कालो छातामा लुकेर दौडिरहेको देखिए ।
भाइरल भयानी नामक इन्स्टाग्राम आइडीबाट एयरपोर्ट बाहिरकाे दृश्य सार्वजनिक भएकाे थियाे, शाहरुख जसमा छाताले छेकिएर लुक्दै गाडी चढेकाे देख्न सकिन्छ । यसबारे जानकारी दिँदै लेखिएकाे छ, ‘शाहरुखको टोली एकदमै गोप्य रुपमा दिल्लीबाट फर्किएको छ । कलिना विमानस्थलमा उनको निजी विमान अवतरण गरेको छ ।’
भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शाहरुखलाई नराम्रोसँग ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘छोराको शोषणका कारण अनुहार लुकाएर यात्रा गर्नुपर्यो ।’ अर्काले लेखेका छन्, ‘लागूऔषधका बाबु अनुहार लुकाएर मात्रै घुम्छन् ।’ योसँगै केहीले अभिनेतालाई ‘ड्रगवाला’ र ‘ड्रग्गी’ पनि भनेका छन् ।
हरेक वर्ष नोभेम्बर २ काे दिन आफ्नो जन्मदिनको विशेष अवसरमा शाहरुख खान मन्नत बाहिर फ्यानहरूका लागि आउँछन्, यद्यपि यो वर्ष त्यस्तो भएको छैन । शाहरूखकाे जन्मदिनमा मन्नत बाहिर हजारौं फ्यान भेला भएका थिए, तर उनी देखा परेनन् । अभिनेताको झलक नपाएपछि फ्यान दुःखी देखिन्थे ।
शाहरुख खानका छोरा आर्यन खान ड्रग्स मुद्दामा झण्डैँ एक महिना जेल बसेका थिए । उनी अहिले धरौटीमा छुटिसकेका छन् । यद्यपि उनी प्रत्येक हप्ता लागुऔषध नियन्त्रण ब्यूरोको कार्यालयमा हाजिरी हुन बाध्य छन् ।




