काठमाडाैं । आजबाट हाँस्यकलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । सञ्चालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरेका हुन् ।
उक्त शाे प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको थियाे । नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग आज प्रसारण हुनेछ । शाे बन्द हुने घाेषणा गर्दै जीतुले भने, ‘हामीले आजबाट शाे बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्को कुनै कार्यक्रममा भेट हुनेछ । कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौँ ।’
टिम वर्कमा गडबडी भएकाे उनकाे गुनासाे छ । कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका उमेश राई केहीअघि नै बाहिरिइसकेका छन् । तर, जितुले एक कलाकारले छाडेको कारण कार्यक्रम बन्द गर्ने अवस्थामा आफू नपुगेको बताए ।
‘उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो’ नेपालले भने, ‘मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजनमा कार्यक्रम बनायो ।’ करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले बताए ।




