एजेन्सी । टी–२० विश्वकपमा भारतको लगातार पराजयपछि एक व्यक्तिले विराटकी छोरीलाई बलात्कार गर्ने धम्की दिएका छन् । धम्की दिने २३ वर्षीय आरोपीलाई मुम्बई प्रहरीको साइबर सेलले हैदराबादबाट पक्राउ गरेको छ ।
अभियुक्त पक्राउ परेपछि अभिनेता फरहान अख्तरले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । एक सफ्टवेयर इन्जिनियर र संगारेड्डी क्षेत्रका निवासी रामनागेश अकुबथिनीलाई बुधबार मुम्बई पुलिसको विशेष टोलीले पक्राउ गरेको एक पुलिस अधिकारीले बताए। त्यसपछि उनलाई मुम्बई ल्याइयो ।
फरहान अख्तरले ट्विट गर्दै उक्त व्यक्तिलाई पक्राउ गरेकोमा खुसी व्यक्त गर्दै महिला पत्रकारलाई दिइने यस्ता धम्कीमा कडा कारबाही हुने आशा राखेको बताए । फरहान अख्तरले लेखेका छन्, ‘मुम्बई पुलिसको साइबर सेलले एक युवतीलाई बलात्कारको धम्की दिने बदमास व्यक्तिलाई ट्रेस गरी पक्राउ गरेको कुरा सुनेर धेरै खुसी छु। अब दैनिकजसो बलात्कारको धम्की दिने महिला पत्रकारका लागि पनि यस्तै कारबाहीको अपेक्षा गरेको छु ।’
जब अनुष्का र विराटलाई छोरीलाई धम्की दिइयो, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता र सेलिब्रेटीहरूले यसको निन्दा गरेका थिए । बिग बोस १४ का प्रतियोगी अभिनव शुक्लाले ट्वीट गर्दै लेखेका थिए, ‘१० महिनाकी बालिकालाई केही व्यक्तिले धम्की दिइरहेका छन् । जनता कति तल झरेका छन् ?’
उक्त व्यक्तिले विराट कोहलीकी १० महिनाकी छोरी र अनुष्का शर्मालाई निशाना बनाएको प्रहरीले जनाएको छ । दिल्ली महिला आयोगले यस विषयमा छानबिनको माग गर्दै दिल्ली पुलिसलाई नोटिस जारी गर्दै विस्तृत कारबाही रिपोर्ट मागेको थियो । व्यक्तिको पहिचान रामनागेश श्रीनिवास अकुवाथिनी (२३) रहेको प्रहरीले जनाएको छ । पाकिस्तानसँगको खेल हारेपछि उनले उक्त धम्की दिएका थिए ।




