काठमाडाैं । हाँस्य कलाकार उमेश राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ का सञ्चालक जीतु नेपालले उमेशका कारण आफ्नो शो बन्द गर्नु परेको बताएका थिए । आरोपको खण्डन गर्दै उमेशले ‘मुन्द्रेको कमेडी क्लब’ आफ्नाे कारणले बन्द नभएकाे दाबी गरे ।
एक अन्तवार्ताका क्रममा उनले भनेका छन्, ‘म यो विवादबारे बोल्न चाहन्नथेँ । तर दर्शकहरुले मलाई नै दोषी देख्नु भएपछि बोल्न बाध्य भएँ । एजेन्सी र जीतु दाईबीच खटपट भएरै शो बन्द भएको जस्तो मलाई लाग्छ, नत्र डान्स च्याम्पियनसँग सम्झौता भएको त धेरै पहिले नै हो । त्यतिबेला दाईले केही पनि भन्नु भएन, कार्यक्रम पनि बन्द गर्नु भएन । मैले दाईलाई म्यासेज पनि पठाएँ, उहाँले दुई–चार दिन मोबाइल बन्द गरेर बस, सबै ठिक हुन्छ भन्नुभयो । तर मनले मानेन, बोल्न बाध्य भएँ ।’
दर्शकको गालीले आफूलाई निकै गाह्रो बनाएको उनले बताए । ‘जताततै धोकेबाज मात्रै प्रतिक्रिया थियो । मैले धोका दिएको छैन । मैले दाईलाई कार्यक्रम अगाडी बढाऔँ भनेकै हो, तर पनि धोकेबाजको ट्याग लाग्यो । एउटै एजेन्सी भएर जोडिएको हुँ, अर्काेमा गएकाे हाेइन । हामीबीच विश्वास थियो, एक्कासी के भयो म अच्चमित छु ।’
हाँस्य कलाकार जीतु नेपालले गएको सोमबार ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उनले शो बन्द गर्नुको कारण ‘फुलन्देकी आमा’ भएको बताएका थिए । उक्त शाे प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको थियाे ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग गएकाे साेमबार प्रसारण भयाे । शाे बन्द हुने घाेषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले टिम वर्कमा गडबडी भएकाे गुनासाे गरे । कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रम उमेश राईका कारण बन्द गर्ने अवस्थामा पुगेकाे उनकाे आशय थियो । उनले सिधै भन्न नसके पनि उनकाे झटाराे उमेशमाथि नै देखिन्थ्याे ।
‘उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो’ जीतुले भने, ‘मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजनमा कार्यक्रम बनायो ।’
उनले शाेका कलाकार उमेश अर्थात् ‘फुलन्देकी आमा’ अर्काे रियालिटी शाेकाे हाेस्ट बन्ने पक्का भएपछि शाे बन्द गर्ने घाेषणा गरेका हुन् । उमेश राईले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ को होस्ट गर्दैछन् । दुवै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्ने भएपछि जीतुले शाे बन्द गर्ने निर्णय गरेका हुन् ।
अब ‘मुन्द्रेको कमेडी क्लब’ को स्थानमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । कि इन्टरटेनमेन्टले नेपाल टेलिभिजनसँग गरेको सम्झौता नसकिएका कारण एजेन्सीले उक्त समयमा उमेशको शो गर्न लागेको हो ।




