एजेन्सी । कट्रिना कैफको विवाहको विषयमा जताततै चर्चा छ । अभिनेता विक्की कौशलसँग कट्रिनाको विवाह हाल बलिउडको टक अफ द टाउन बनेको छ । यद्यपि, यी दुईले आफ्नो विवाहबारे कुनै आधिकारिक बयान दिएका छैनन् । विवाहको यो चर्चाका बीच कट्रिनाको परिवार र जीवनसँग सम्बन्धित केही पाटोबारे कुराकानी गरौँ ।
कट्रिना कैफ आफ्ना आठ दाजु–बहिनीमध्ये चौथी छोरी हुन् । कट्रिनाको जन्म १६ जुलाई सन् १९८३ मा हङकङमा भएको थियो । उनका पिता मोहम्मद कैफ एक कश्मिरी मूलका बेलायती व्यापारी हुन् र आमा सुजेन टर्कोट वकिल र च्यारिटी वर्कर हुन् । कट्रिनाका तीन दिदी स्टिफनी, क्रिस्टिन र नताशा, एक दाइ माइकल, तीन बहिनी मेलिसा, सोनिया र इसाबेल हुन् ।
कट्रिना सानै हुँदा उनका आमा–बुवाको सम्बन्धविच्छेद भएको थियो । उनकी आमा एकलैले आफ्नो सन्तानलाई हुर्काएकी थिइन् । कट्रिनाका अनुसार उनकी आमाले कहिल्यै उनीहरुलाई कुनै कुराको कमी महसुस गर्न दिइनन् । उनले एकपटक अन्तरवार्तामा भनेकी थिइन्, ‘मेरी आमाले आफनो जीवन मानिसहरुको भलाइका लागि सुम्पिएकी थिइन् । म लामो वर्षसम्म आफ्नो पिताको सम्पर्कमा थिइनँ ।’
कट्रिनाको स्कूलिङ निकै रोचक रह्यो । उनको र उनका दिदी–दाजु बहिनी सबैको पढाई घरमा नै भएको थियो । यसका लागि उनकी आमाले थुप्रै ट्युटर राखेकी थिइन् । यस्तो यसकारण किनभने उनीहरु आफ्नी आमाको कामका लागि विभिन्न स्थानमा गइरहनु पर्दथ्यो । हङ्गकङमा जन्मिएपछि उनीहरु चीन गए, त्यसपछि जापान, पछि फ्रान्स, स्विटजरल्याण्ड र थुप्र्रै युरोपेली देश गए ।
कट्रिनाले पोल्याण्ड, बेल्जियम, हवाईमा केही समय बिताएकी छिन्, त्यसपछि उनी लण्डन गइन् । लण्डनमा तीन वर्ष बसेपछि उनी भारत फर्किइन् । भारतमा उनले कामको प्रस्ताव पाउन थालेपछि उनी भारतमै सरिन् । त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।
कट्रिनाले भारत आएपछि आफ्नो थर फेरिन् । उनले आफ्नी आमाको थरमा ‘कट्रिना टर्कोट’ राखेकी थिइन् । भारत आएपछि उनले आफ्ना पिताको थर कट्रिना कैफ राखिन् । बुवाको थर राख्नुमा मानिसहरुलाई टर्कोटको साटो कैफ भन्न सहज होस् भनेर परिवर्तन गरेको बताइन् ।
सन् २००३ मा बलिउड डेब्यू गरेपछि कट्रिना भारतमै बसिन् । उनी भारत गएको १८ वर्ष पुगिसकेको छ ।




