एजेन्सी । कंगना रनौतमाथि देशभर एफआईआर दर्ता भएपनि उनी चुप लागेर बसेकी छैनन्। नायिकाले फेरि एकपटक विवादित बयान दिएकी छन् । यस पटक उनको बयान राष्ट्रपिता महात्मा गान्धी र भगत सिंहको बारेमा छ। कंगनाले इन्स्टाग्राम स्टोरीमा एउटा समाचार र दुई लामो सन्देश पोस्ट गरेकी छिन् । यसमार्फत कंगनाले फेरि एकपटक ‘भिखमा पाएको स्वतन्त्रता बारे आफ्नो बयान राखेकी छिन् ।
पहिलो सन्देशमा कंगनाले लेखेकी छिन्, ‘स्वतन्त्रताका लागि लड्नेहरूलाई सत्ताका भोका र धूर्त मानिसहरूले आफ्ना मालिकको हातमा सुम्पिदिए । यी त्यही मानिसहरू थिए जसमा आफ्ना शोषकहरूसँग लड्ने साहस थिएन । यी नै मान्छेहरूले सिकाएका छन् कि कसैले थप्पड हान्याे भने अर्काे गाला थाप्नुस् । यसरी नै स्वतन्त्रता मिल्छ । यसरी स्वतन्त्रता हाेइन केवल भिख मिल्छ । त्यसैले बुद्धिमानीपूर्वक आफ्नो नायकहरू छान्नुहोस् ।’
दोस्रो पोस्टमा कंगना लेख्छिन्– ‘गान्धीले कहिल्यै भगत सिंह तथा नेताजीलाई समर्थन गरेनन् । धेरै प्रमाणहरू छन्, बताउँछ कि गान्धीजी भगत सिंहलाई फाँसी हाेस् भन्ने चाहन्थे । त्यसकारण तपाईंले कसलाई समर्थन गर्ने भनेर चुन्नुपर्छ । किनकि यी सबै कुरालाई तपाईंको दिमागको एउटै बाकसमा राखेर उहाँलाई उहाँको जन्मजयन्तीमा शुभकामना दिनु मात्रै पर्याप्त छैन । वास्तवमा यो मौनता अत्यन्तै गैरजिम्मेवारपूर्ण र सतही छ ।सबैले आफ्नो इतिहास र नायकहरूको बारेमा जान्नुपर्दछ ।’
वास्तवमा गत हप्ता अभिनेत्री कंगना रनौतको एक बयानलाई लिएर विवाद भएको थियो । शिखर सम्मेलनमा उनले भारतले सन् २०१४ मा वास्तविक स्वतन्त्रता प्राप्त गरेको बताएकि थिइन् । पहिले पाएको स्वतन्त्रता स्वतन्त्रता होइन, भिख रहेकाे उनकाे बयान थियो । उनको बयानमा भाजपा सांसद वरुण गान्धीले यो सोचलाई पागलपन वा देशद्रोह भन्नुपर्ने बताएका थिए ।
कंगनाको बयानको भिडियो सामाजिक सञ्जालमा आएपछि धेरै सेलिब्रेटीले उनको आलोचना गरेका छन् । यति मात्रै होइन, उनको विरुद्ध देशभर विरोध प्रदर्शन हुनुका साथै एफआइआर पनि परेको छ । यस बयानका आधारमा कंगनालाई दिइएको पद्मश्री पुरस्कार फिर्ता लिन पनि धेरैले भारत सरकारसँग माग गरेका छन् ।




