नयाँ दिल्ली । बलिउडका दिग्गज तथा चर्चित अभिनेता सलमान खानले केआरके (कमल आर खान) विरुद्ध फेरि मुद्दा दायर गरेका छन् । अभिनेता केआरकेले आफूलाई फिल्म समीक्षकको रूपमा वर्णन गर्छन् र धेरै स्टारहरूकाे फिल्महरूको समीक्षा पनि लेख्छन् । यसअघि सलमान खानले आफ्नो फिल्म राधे आएपछि केआरकेविरुद्ध मुद्दा दायर गरेका थिए ।
नयाँ केसको बारेमा केआरके आफैँले जानकारी दिएका छन् । केआरकेले सामाजिक सञ्जालमार्फत् सलमान खानले आफूविरुद्ध अर्को मुद्दा दायर गरेको बताएका छन् । तर, केआरकेले अभिनेताको यो केसलाई अनावश्यक भनेका छन् । केआरके सामाजिक सञ्जालमा निकै सक्रिय छन् । सामाजिक र राजनीतिक मुद्दामा बोल्नुका साथै बलिउड फिल्म उद्योग र यससँग सम्बन्धित स्टारहरूले पनि बयानबाजी गरिरहन्छन् ।
केआरकेले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा लेखेका छन्, ‘अदालतको आदेश आएदेखि मैले सलमान खानको बारेमा कुनै भिडियो बनाएको छैन, न उनको कुनै फिल्म, गीत वा ट्रेलरको समीक्षा गरेको छु, न त उनको बारेमा केही ट्विट गरेको छु । तर उनीहरुले मेरो विरुद्ध अर्को मुद्दा दायर गरेका छन्, जसको सुनुवाई नोभेम्बर २९ मा छ । मलाई अचम्म लाग्छ कि सलमान खानले मलाई यति धेरै माया गर्नुहुन्छ र २४ सै घण्टा मलाई सम्झनुहुन्छ ।’
केआरकेको यो ट्विट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सलमान खान र केआरकेका फ्यानहरूले उनको ट्वीटमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् । केआरकेले फिल्म राधेः योर मोस्ट वान्टेड भाइको समीक्षा गरेपछि सलमान खानको कानूनी टोली केआरकेविरुद्ध अदालत गएको थियो । मुम्बई उच्च अदालतले सलमान खानलाई नोटिस जारी गर्दै केआरकेको याचिकामा जवाफ मागेको थियो ।
पीटीआईका अनुसार, केआरकेले आफ्नो याचिकामा सलमान खान, उनका फिल्म वा कम्पनीहरूमा कुनै पनि टिप्पणी गर्नबाट रोक लगाउने तल्लो अदालतको अन्तरिम आदेशलाई खारेज गर्न खोजेको थियो । यसपछि अदालतले केआरकेलाई सलमान खानको कुनै पनि फिल्म वा गीतको समीक्षा नगर्ने आदेश दिएको छ । त्यसयता उनले सलमान खानको कुनै पनि फिल्मको समीक्षा गरेका छैनन् ।




