एजेन्सी । मुम्बई प्रहरीले कंगना रनौतविरुद्ध एफआईआर दर्ता गरेको छ । मोदी सरकारको कृषि कानून फिर्ता लिएपछि कंगनाले किसान आन्दोलनलाई खालिस्तानी आन्दोलनसँग तुलना गरेकि थिइन् । यसैकारण उनीविरुद्ध एफआईआर दर्ता भएकाे हाे । धार्मिक भावनामा चोट पुर्याएकाे उनीमाथि आरोप छ ।
प्रहरीले दिल्ली सिख गुरुद्वारा प्रबन्ध समितिका नेताहरू सहित अमरजीत सिंह सन्धु, कुलवंत सिंह संधूको उजुरीको आधारमा एफआईआर दर्ता गरेको हाे । कंगनाले सबै किसानलाई खालिस्तानी आतङ्ककारीको संज्ञा दिएर सन् १९८४ को दंगालाई जाेडेर समुदायको धार्मिक भावनामा चोट पुर्याएको उजुरीमा उल्लेख छ ।
यस्तै शहीद चन्द्रशेखर आजादका भतिजा तथा हिन्दू रिपब्लिकन आर्मीका अध्यक्ष पण्डित सुजित आजादले शहीदको अपमान गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिने अभिनेत्री कंगनालाई तत्काल पक्राउ गर्न माग गरे । उनले भने, ‘केन्द्र सरकारले तत्काल कंगनाबाट पद्मश्री पुरस्कार खोसेर गिरफ्तार गरोस्, अन्यथा एक महिनापछि देशका २८ राज्यमा आन्दोलन हुनेछ ।’
सोमबार गोहाना बाइपास चोकमा आयोजित अभिनन्दन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । देशका राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले कंगना रनौतबाट अवार्ड तत्काल फिर्ता गरी उनलाई तत्काल पक्राउ गरी मृत्युदण्डको सजाय दिनुपर्ने उनकाे भनाइ छ ।




