काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’ त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ ।
राप्रपाको महाधिवेशनमा कमल थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजाको फेक ट्वीटर मेन्सन गर्दै ट्वीट गरेर आफूलाई निर्मल निवासले हराएको आरोप लगाएका थिए । त्यसपछि हिमानी, पारश शाह लगायतका नामका फेक फेसबुक तथा ट्वीटर एकाउण्टबाट विभिन्न पोस्टहरु भइरहेका छन् ।




