एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलले बिहीबार विवाह गरेका छन् । भारतको राजस्थानस्थित माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा उनीहरूले विवाह गरेका हुन् । स्थानीय समयानुसार साँझ ५ बजे दुवैले सात फेरा लिएका हुन् ।

विक्की कौशल र कट्रिना कैफले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्बिर सेयर गरेका थिए । यी तस्बिरहरूसँगै विक्की र कट्रिनाले एउटा नोट पनि लेखेका छन् कि हाम्रो हृदयमा केवल माया र कृतज्ञता छ, जुन हामीले आजको यो घडीमा ल्याएका छौं ।

‘सबैको माया र आशिर्वादको कामना गर्दै हामी नयाँ यात्रा सुरु गर्दैछौं,’ उनीहरूले नोटमा लेखेका छन् । कट्रिनाले जुडा बाँधेकी, गजरा लगाएकी थिइन् र रातो लेहेंगामा देखिएकी थिइन् । सोही क्रममा विक्की कौशल सेतो शेरवानीमा देखिएका थिए ।






