एजेन्सी । भारतीय मोडल हरनाज सन्धुले मिस युनिभर्सको उपाधि जितेकी छन् । भारतले २१ वर्षपछि यो ताज जितेको हो । यसअघि भारतका लागि लारा दत्ताले सन् २००० मा यो उपाधि जितेकी थिइन् । भारतका लागि यो तेस्रो उपाधि हो । पहिलो उपाधि सुस्मिता सेनले जितेकी थिइन् ।
इजरायलमा सम्पन्न ७० औं मिस युनिभर्समा पञ्जाबकी २१ वर्षीया हरनाज सन्धु सहभागी भएकी थिइन् । सन्धुलाई यसअघिका विजेता आन्द्रेया मेन्जाले ताज पहिराएकी थिइन् । हरनाज १७ वर्षकै उमेरदेखि सुन्दरी प्रतियोगितामा भाग लिन थालेकी हुन् । उनले यही वर्ष मिस दीवाको उपाधि जितेकी थिइन् ।
त्यसअघि उनले २०१९ मा मिस इन्डिया पञ्जाबको उपाधि जितेकी थिइन् । उनी त्यतिबेला मिस इन्डियाको उत्कृष्ट १२ सम्म पुगेकी थिइन् । सुन्दरी प्रतियोगितामा जमेपछि उनले अभिनय यात्रासमेत थालेकी थिइन् । उनले दुई वटा पञ्जाबी फिल्ममा अभिनय गरेकी छन् ।




