एजेन्सी । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले बिहिबार टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । डी ककको घोषणाले दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअपमा थप संकट देखा परेको छ ।
पछिल्लो केही वर्षमा दक्षिण अफ्रिकाका स्थापित खेलाडीहरुले टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । डी ककले परिवारसँग धेरै समय बिताउन चाहेका कारण टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेको बताएका छन् । उनको छिट्टै पहिलो सन्तानको जन्म हुँदैछ ।
डी ककले सेन्चुरियन पार्कमा बिहिबार सम्पन्न भारतविरुद्धको पहिलो टेष्टमा ५५ रन बनाएका थिए । पहिलो टेष्टमा दक्षिण अफ्रिका भारतसँग ११३ रनले पराजित भएको थियो । गर्भवती श्रीमती र नवजात शिशुको हेरचाहका लागि डी ककले यसअघि नै अर्को दुई खेल नखेल्ने भएका थिए ।
तर २९ वर्षे ब्याट्सम्यान डी ककले अब सधैका लागि टेष्ट क्रिकेट नखेल्ने भएका छन् । तथापी उनी सेतो बलको खेलमा भने दक्षिण अफ्रिकाका लागि उपलब्ध हुनेछन् । विकेटकिपर ब्याट्सम्यान डी ककले टेष्ट क्रिकेटमा ३८.८२ को औसतमा तीन हजार ३०० रन बनाइसकेका छन् ।
सन् २०१४ मा डेब्यू गरेका डी ककले ६ शतक बनाएका छन् । उनले विकेटकिपरका रुपमा २२१ क्याच गरेका छन् भने ११ स्टम्पिङ् गरेका छन् । पछिल्लो तीन वर्षमा दक्षिण अफ्रिकाका हशिम अमला, एबी डी भिलियर्स, फाफ डुप्लेसी, जेपी डूमीनीले सन्यासको घोषणा गरेका थिए ।




