काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा खासै उल्लेखनीय मौसम परिवर्तन नभए तापनि बिहान र बेलुकीको समयमा चिसो हुने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
विभागका अनुसार सोमबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् ।
उनीहरुका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।




