काठमाडौं । बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन् । महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ ।
आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं ।’ –उनले भने ।
गत माघ २४ गते मेलौल नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन् ।
सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन् ।
पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ भएका छन् । पीडित महिलाका १ छोरा र १ बोल्न तथा हिँडडुल गर्न नसक्ने अपांगता भएकी छोरी छिन् । श्रीमान् पनि घरमै रहेका बताइएको छ । आरोपित नेगी पनि विवाहित हुन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।




