काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोइन् ।
अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । पूजाले ‘म यस्तो गीत गाउँछु २’ राम्रो फिल्म बनाउने कोसिस समेत गरेको सुनाइन् ।
फिल्म निर्माणको समय लकडाउन, त्यसपछि रिलिजको समय फेरि हल बन्द भएको प्रसंग समेत सुनाउँदै पूजाले १३ गते फिल्म रिलिजको लागि आफु उत्साहित भएको बताइन् । उनले फिल्म उद्योगमा धेरै संघर्ष गरेको समेत स्मरण गरिन् ।
सो अवसरमा फिल्म निर्माता समेत रहेका निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आश आफ्नो रहेको बताए । तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।




