काठमाडौं । एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियाेगमा अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको छ। त्यसपछि पललाई प्रहरीले खोजिरहेको छ ।
प्रहरी कार्यालयमा उजुरी पर्नुअघि नै पलले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरिरहेका थिए । प्रहरीमा उजुरी परेको भोलिपल्ट बिहीबार बिहान पनि उनले आफूलाई फसाउन रचिएका योजनाका अडिओ भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
अडिओमा एक समय पलका मिल्ने साथी दुर्गेश थापाको स्वर पनि सुनिन्छ । उनले पीडित नाबालिगलाई पलविरुद्ध लाग्न उक्साइरहेका सुनिन्छ । दुर्गेशको साथमा पलका म्यानेजर कृषणप्रसाद जोशी, गायक तथा भिडिओ निर्माता सरोज ओली र गायक सम्राट चौलागाई पनि बाेलेकाे सुनिन्छ ।
पलले अडिओ सार्वजनिक गरेपछि दुर्गेशले आफ्नो नाम लिएर पल नजोगिने प्रतिक्रिया दिएका छन् । दुर्गेशले पीडित नाबालिगले नै पटक पटक आफूसँग सम्बन्ध राखेको भनिसकेकाे अवस्थामा अरु साथीको नाम लिएर छुटकारा नपाइने टिप्पणी गरेका छन् ।
उनले पल प्रति पीडित केटी निकै क्रेजी रहेको र पलसँग विवाहबाहेक अरु मान्य नहुने बताएको दुर्गेशले सुनाएका छन् । ‘सार्वजनिक अडिओको छलफल घटना घटिसकेपछिको हो’, दुर्गेश भन्छन् ।




