काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणाली बारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि निकै तिब्र गतिमा चलेको बताए । सो आँधिको असर भारतको उडिसा लगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।




