काठमाडौं । आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको अनुमान गरिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा आज राति पानी पर्ने सम्भावना रहेको छ ।
भोलि दिउँसोदेखि भने हिमपात र वर्षाको मात्रा बढ्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव गण्डकी प्रदेशसम्म पर्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै भोलि गण्डकी प्रदेशका थोरै ठाउँमा पनि वर्षा र हिमपात हुने छ । यो प्रणालीकै कारण चिसो हावासमेत चल्ने छ । हावा चल्ने हुँदा यी प्रदेशमा अबको केही दिन हुस्सु कुहिरो हट्ने छ ।
मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहिबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
हिमाली भेगमा भने भोलिपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको छ । यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको जनाइएको छ ।
विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो ।
तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । आज दिउँसो भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।




