काठमाडौं । भेरी नगरपालिका–१ स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’ भएको पाँच महिना पुग्यो । काम भने अधुरै छ ।२५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ । तर, निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ ।
सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन् । पाइप अपुग छ ।५ सय मिटर अनुमान गरिए पनि कार्यालयले तीन सय मिटर मात्रै दिएको छ । सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो । सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैंले खरिद गरेको थियो ।
भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ । १५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन् । सोलार सिस्टम चल्दैन । यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको थियो ।तर, स्टिमेटअनुसार पाइप पाएन । जसकारण हालसम्म नदीदेखि पोखरीसम्म पानी पुगेको छैन ।
भेरी–१२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ । १० लाख लागतको आयोजनाले न स्टिमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । ५ सय ८० मिटर पाइप स्टिमेट गरिएकामा ३ सय मिटर मात्र आएको छ ।
यसको पोखरीसमेत बनाइएको छैन । सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो । तर, नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन ।
सोलार सिस्टम पनि चल्दैन । खानेपानी समेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।




