काठमाडौं । आज सोमबार देशैभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार देशैभरि वर्षाको सम्भावना रहेको जनाएको छ ।
दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ ।
यस क्रममा कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशका बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार बागमती प्रदेश अन्तर्गत आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का तथा १० देखि माथि ५० देखि मुनि मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।
यस्तै आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
यस क्रममा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा बाँकी भूभागका एक दुई ठाउँमा मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मौसमविद्का अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा माथि, सय मिलिमिटरभन्दा तल पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।
तराईमा घट्दै गर्मी
मौसमविद्का अनुसार केही दिनदेखि उखरमाउलो गर्मी भइरहेको मध्य तथा पश्चिम तराईमा पनि अहिले तापक्रम केही घटेको छ । भारतमा रहेको बिपरजोय नामको चक्रवातको प्रभावले मध्य तथा पश्चिम तराईमा पनि मौसम बदली भएकाले गर्मीमा केही राहत भएको हो ।
मौसमी प्रणाली अझै गण्डकी प्रदशेबाट पश्चिम अघि बढ्न सकेको छैन । मनसुन प्रवेश गरेपछि भने गण्डकीदेखि पश्चिमका क्षेत्रमा पनि प्रशस्त वर्षा हुने सम्भावना हुन्छ ।
अहिले मनसुन कोशी प्रदेश (पहाड–तराई दुवै क्षेत्रमा), मधेश प्रदेशको पूर्वी भाग (पश्चिमी भागमा भने मनसुन खासै सक्रिय छैन), बागमती प्रदेश र गण्डकी प्रदेशमा सक्रिय छ । मनसुन यही जुन १४ तारिखका दिन नेपालको पूर्वी भागबाट प्रवेश गरेको हो ।




