धनुषा । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठ वटै जिल्लामा यस रोगका कारण गाई वस्तुको व्यापक क्षति भएको हो । जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजार बढी गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरिएको हो ।
मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम २ वटा मरेका छन् । लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरु मरेका छन् ।
मरेका २ हजार २५ पशुमध्ये भैँसी/राँगा मात्र ६ वटा छन् र २ हजार १९ वटा गाई/गोरु रहेका छन् । मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइ सकिएको पशु अधिकृत चिकित्सक डा. रञ्जितकुमार अधिकारीले बताए ।
अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार ३ सय २५ पशुलाई खोप लगाइएको छ ।
सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठ वटै जिल्लामा आठ/आठ हजारको दरले कूल ६४ हजार खोप पठाएको जानकारी दिए ।
मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ । स्थानीय सरकारले रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भएपनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ ।




