काठमाडौं । देशका धेरै स्थानमा शनिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
शनिवार राति देशभरदेखि पूर्ण बदली रहनेछ। धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तरपूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।




