वीरगंज । वीरगंज महानगरपालिका–१ धाँगडटोल (शान्तिटोल) स्थित ऐलानी जग्गा स्थानीयले कब्जा गर्न थालेका छन् । शान्तिटोलमा वर्षौंदेखि स्थानीयहरूले सार्वजनिकरूपमा हकभोग गर्नुका साथै बच्चाहरू खेल्ने मैदानको रूपमा प्रयोग हुने सो जग्गामा भूमाफियाहरूले कब्जा जमाएका छन् ।
स्पष्टरूपमा ऐलानी जग्गा लेखिएपनि माफियाहरूले आफ्नो नियन्त्रणमा लिई बेच्ने थालेका स्थानीय शेख मुन्नाले बताए । सोही ठाउँमा रहेको प्रहरी चौकी भकुवा सङ्कटकालको समयमा स्थानान्तरण भई अन्यत्र गएपछि प्रहरी चौकीको जग्गा समेत अन्यले व्यक्तिले कब्जा जमाए पनि जिल्ला प्रहरी कार्यालय, पर्सा मौन छ ।
महानगरभित्र रहेका सार्वजनिक जग्गाहरूको रेखदेख गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूको भएपनि उनीहरूकै भूमाफियासँग मिलेमतो रहेको स्थानीयको आरोप छ । सार्वजनिक स्थल कब्जा गरी स्थानीय नुरआलम चुरिहारले ठूलो तथा भव्य घर बनाएका छन् । वडा कार्यालयले २०७९/१०/२६ गते सार्वजनिक जग्गामा घर बनाउन रोकेको पत्र दिए पनि चुरिहारले केही जनप्रतिनिधिहरूको आडमा घर निर्माण गरिसकेको स्थानीयले बताए ।
सिनं ३८९/२४ को कित्ता नम्बर ३५० मा निजी जग्गा रहेको तर चुडिहारले कित्ता नं ३४२ को ऐलानी जग्गा मिचेर घर बनाएपछि सो टोलका युवाहरूले विरोध प्रदर्शन गरेर भिडियो सामाजिक सञ्जालमा हालेपछि घटना बाहिरिएको हो । घटनालाई लिएर स्थानीयले पटक–पटक नगरप्रमुख राजेशमान सिहसँग पनि भेटेको बताएका छन् ।




