हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।
केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौंबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सामा चामल ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदानको चामल कुहिएको भेटिएको हो ।
एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको छ । धेरैजसो चामल पाएका घर परिवारले कुहिएको चामल डल्लै डल्ला परेको भेटिएको बताएका छन् ।
२५ किलोको बोरा चामलको मूल्य २ हजार ३ सय ७५ रुपैयाँमा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको हो । झन्डै ५० घरधुरीका नागरिकले चामल खरिद गरेकोमा धेरैजसो बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ ।
मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ ।
हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।




