काठमाडौं । स्याङ्जामा गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार गरिएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्सवमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार गरिएको हो ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए । सार्वजनिक भएको भिडियो अनुसार थापामाथि पछाडिबाट जुत्ता प्रहार गरिएको देखिन्छ ।
थापाले प्रस्तुति दिइरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सञ्जय राउतले जानकारी दिए ।
एसपी रावतले भने, ‘हामीले डुुम्रेलाई नियन्त्रणमा लिएका थियौँ । तर, उनले मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बयान दिए । आज दुर्गेशसँग छलफलपछि डुम्रेलाई पनि छाडिसक्यौँ ।’




