काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणि समेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।
वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत करिव चार सय गीतमा आवाज दिएका थिए ।
गायक आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज रहेका छन् ।
उनको जीवनी
वि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित आचार्य मानविय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् । वि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतिक यात्रामा करिव ४५० वटा गीतहरु गाउनु भएका उहाँले गाउनु भएका गीतहरु मध्ये २०/२५ वटा गीतहरु बाहेक सबैमा आफैले संगीत दिनुभएको थियो ।
उहाँलाई २०४६ सालमा एउटा बज्रपात आइ लाग्यो, उहाँ माथि काठमाडौंको बौद्धमा साँगातिक हमला भयो, जसको कारण उहाँको टाउकोमा १०० टाँका लगाउनु परेको थियो । उहाँको त्यो चोट निको नहुँदै अर्को बज्रपात आइलाग्यो, उहाँको जिब्रोमा देखिएको सानो खटीराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा जिब्रो काट्नु पर्यो र सुरिलो स्वर हामीबाट टाढा हुनपुग्यो ।
मानविय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक भजन शिरोमणि आचार्य गुपचुप एकान्तमा थिए । उनले जीवनमा न कुनै गल्ति गरेका थिए, न अपराध, केवल राष्ट्रलाई सयौं वर्ष पुग्ने आधुनिक, भजन, स्वदेशगानहरु गाएका थिए । उनै भजन शिरोमणी आचार्यले यस संसारलाई सदाका लागि छाडेर गएका छन् ।




