काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस विहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई उद्धार गरिएको थियो । उद्धारपश्चात दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन् । उनीहरूको पहिचान हुन सकेको छैन । घाइते ३६ जनामध्ये केहिलाई काठमाडौं र चितवन पठाइएको छ ।
केहि घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने बारे यकिन छैन ।




