काठमाडौं । गायक राजेश पायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । काठमाडौं जिल्ला अदालतमा राजेश र साङबुङबीच सम्बन्धविच्छेदका हस्ताक्षर भएको हो । श्रीमतीले सम्बन्धविच्छेद गर्न दवाब दिएपछि राजेशले सम्बन्धविच्छेद गरेका हुन् ।
राजेशले आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग केहि वर्षअघि सुटुक्क विवाह गरेका थिए । उनीहरूको दुई वर्षको एक छोरा पनि रहेको छ । राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्र लाभ गरेपछि विवाह दर्ता गरेका थिए । विवाह दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा विवाह भएको उल्लेख गरेका छन् ।
उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए । राजेशले सम्बन्धविच्छेद गर्दै साङबुङलाई ६ करोड बढी सम्पत्ति पनि दिएका छन् । उनले काठमाडौंको नक्सालमा रहेको पाँच करोड पर्ने तीन तलाको घर साङबुङलाई दिएका छन् ।
यस्तै, पचास लाख नगद दिएका छन् भने भविष्यमा पनि थप एक करोड दिने सम्झौता गरेका छन् । यस्तै, काठमाडौंमा रहेको एउटा घडेरी पनि साङबुङले पाउने छिन् । डिभोर्सपछि छोरा आमासँग बस्नेछन् भने राजेशले छोराको पढाइको खर्च साथै भरणपोषणका लागि छुट्टै मासिक १५ हजार रूपैयाँ साङबुङलाई उपलब्ध गराउने सम्झौता भएको छ ।




