एजेन्सी । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो । १-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९० औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् ।
यसअघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ ।
यसअघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो । अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुनेछ ।




