बीबीसी । चितवनको सिमलतालमा भएको बस दुर्घटनामा तीन जना बाँच्न सफल भएको अधिकारीहरूले बताएका छन् । काठमाडौंबाट वीरगन्ज जाँदै गरेको मध्यरातमा बस नदीमा खसेपछि जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता पौडी खेलेर बाँचेका हुन् ।
सुरज गुप्ता भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ । बीबीसीले दुर्घटनामा बाँच्न सफल जोगेश्वर राय र नन्दन दाससँग कुरा गरेको छ ।
‘पाँच-छ घुट्की पानी पिएँ’
काठमाण्डूमा उपचार गरेर घर फर्कँदै गरेको बताउने जोगेश्वर रायले आफू चढेको गाडी एक्कासि हल्लिएको र चार पटक पल्टा खाएर खोलामा खसेको बताएका छन् । “त्यसपछि म पनि डुबेँ । पाँच-छ घुट्की पानी पिएँ,” उनले बीबीसीसँग भने ।
“त्यहाँबाट कसरी कसरी बाहिर निस्किएर म पौडी खेलेर किनारमा आएँ ।” पौडिएर नदी किनारमा पुगेपछि अँध्यारोमा छामछुम गरेर सडकसम्म आएको उनले सुनाएका छन् । रायका अनुसार उनीसँगै बसमा उनका छोरा, छोरी, नाति र नातिनी पनि थिए ।
“बसमा छोरा, जेठी छोरी, एक जना नाति र एक जना नातिनी थिए । पाँच जनामा म मात्रै बाचेँ,” रायले भने । घाइतेहरूका अनुसार उनीहरूलाई प्रहरीले त्यहाँबाट गाडी चढाएर अस्पताल पुर्याएको हो ।
‘हामीलाई मर्ने भयौँ भन्ने लागिरहेको थियो’
दुर्घटनामा बाँच्न सफल अर्का व्यक्ति रौतहटका नन्दन दासले मुग्लिनमा खाना खाएर बस अघि बढेको एक डेढ घण्टा पछि दुर्घटना भएको बताएका छन् । उनले माथिबाट पहिरो आएको र बस पल्टिएर नदीमा पुगेको बताए ।
नदीमा पुगेपछि झ्यालबाट बाहिर निस्किएर पौडिँदै किनारमा पुगेको उनले बताएका छन् । “बच्ने हो भगवान्ले बचायो भनेर पौडी खेलिरहेको थिएँ । तर राति कहाँ पौडी खेलिरहेको थिएँ । भित्र जाँदै छु कि बाहिर आउँदै छु भन्ने पनि थाहा थिएन । तर, किनारमै आइपुगेँ,” उनले भने ।
उनले पौडी खेल्दै जाँदा ढुङ्गा र त्यसपछि झाडी भेटिएको र झारहरू समातेर सडकमा निस्किएको बताए । “त्यसपछि पहाड चढ्न सुरु गर्यौँ, चढ्दै-चढ्दै माथि सडकमा आयौँ,” उनले भने । उनले त्यहाँबाट आफूहरूलाई प्रहरीले अर्को बस चढाएर नारायणगढ पठाइदिएको बताएका छन् ।
“त्यतिबेला पानी पनि झमझम परिरहेको थियो,” उनले भने । बस पल्टिएपछि आफूहरूलाई मरिन्छ भन्ने लागेको उनले सुनाए । “हामीलाई मर्न जाँदै छौँ भन्ने लागिरहेको थियो,” दासले सुनाए ।
दुई जना सँगै बाहिर निस्किएको र अर्को एक जना केही समयपछि बाहिर भेट भएको दासले बताएका छन् । उनले आफूले नदेखे पनि बाँचेका अरू साथीहरूले अर्को बस पनि खसेको आफूलाई सुनाएको बताए ।
पहिरोका कारण दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् । दुई वटा बसमा रहेको ठानिएका ६० जना भन्दा धेरैको खोजीमा सुरक्षा निकाय र गोताखोर परिचालन गरिएका छन् ।
दुर्घटनामा परेका पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा कम्तीमा २१ जना र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताएका छन् ।




