काठमाडौं । आज निजामती सेवा दिवस मनाइँदैछ । यस अवसरमा सरकारले प्रत्येक वर्षझैं उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्दै आएको छ । तर, यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भने पाउन सकेन । यो पहिलो पटक भने होइन, सरकारले लगातार ८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी चयन गर्न सकेको छैन ।
निजामती सेवा नियमावलीमा तीन स्तरका पुरस्कार प्रदान गर्ने व्यवस्था छ– सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार । विगतमा यी सबै पुरस्कार वितरण हुने गर्थे, तर ८ वर्षयता सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न सकेको छैन ।
नियमावलीको नियम ११६ (क) अनुसार सर्वोत्कृष्ट निजामती कर्मचारीलाई २ लाख रुपैयाँको पुरस्कार दिनुपर्ने प्रावधान छ । तर, यो मापदण्ड पूरा गर्ने कर्मचारी फेला नपरेका कारण यस वर्ष पनि सर्वोत्कृष्ट पुरस्कार घोषणा हुन सकेन ।
२०६१ सालदेखि मनाउन थालिएको निजामती सेवा दिवसमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत ६८ हजारभन्दा बढी कर्मचारीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिन्छ ।
यद्यपि, यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन कठिन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयहरूबाट १६२ जना कर्मचारीको नाम सिफारिस गरे तापनि सर्वोत्कृष्टको लागि योग्य कुनै पनि व्यक्ति छनोट भएनन् ।
यस पटक उत्कृष्ट निजामती कर्मचारीका रूपमा १० जनालाई र निजामती सेवामा ३० जनालाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्टले १ लाख र निजामती सेवामा पुरस्कृत भएका ३० जनाले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।




