काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहिबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षा समेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसमको यस्तोस्थिति हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर-पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको छ ।
महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ ।
‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ जारी विशेष बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।’
बुलेटिन अनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाले वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ ।
यसैगरी दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरको छ ।




