चितवन । नारायणगढ-मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका ६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ । एउटा गाडीका यात्रुलाई केहि नभएपनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढुंगाले लागेका दुवै गाडी आ-आफ्नो गन्तव्यतर्फ गइसकेको बताए ।
काठमाडौंबाट बर्दिया जान आइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६-००१ ज ०२३६ नम्बरको माइक्रो बस माथि हिजो राति सवा आठ बजेतिर ढुंगा खसेको थियो । ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँच जना यात्रु घाइते भएका छन् । माइक्रो बसका यात्रुलाई केहि नभएको प्रशासनले जनाएको छ ।
घाइतेहरूलाई बसमा नै राखेर उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा ल्याइएको थियो । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।




