काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेको बताएका छन् ।
मन्त्री गुरुङले रवि लामिछानेको पक्राउ सहकारी प्रकरण अनुसन्धानको सुरुवात मात्रै भएको जनाउँदै, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भ्रम सिर्जना गर्न अनावश्यक नाम उल्लेख गर्नु नपर्ने धारणा व्यक्त गरे ।
“सर्वाधिकारसहितको सर्वदलीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले स्वामित्व लिएर कार्यान्वयन गरिरहेको छ । प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूको अनुसन्धानको सुरुवात मात्रै भएको हो,” गुरुङले भने, “अनावश्यक रूपमा व्यक्तिको नाम लिएर भ्रम फैलाउनु आवश्यक छैन ।”
संसदीय समितिले ६५ करोडभन्दा बढी रकम दुरुपयोग भएको सहकारी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी जिम्मेवार रहेको ठहर गर्दै, उनीहरूमाथि कानूनी कारबाही सिफारिश गरेको थियो ।




