काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग १९ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका ४ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका १० बस्ने ३० वर्षीय सन्जिव गुरुङलाई पक्राउ गरेको हो । उनलाई तार्केश्वर नगरपालिका १० मनमैजु हिलेटोलबाट पक्राउ गरिएको महाशाखाका एसपी अंगुर जिसीले बताए ।
गुरुङले बेरोजगार युवा युवतीहरूलाई आकर्षक तलब पाउने गरी वैदेशिक रोजगारीमा दुबई पठाउने भनेर रकम अशुलेका प्रहरीले जनाएको छ । उनले पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका थिए । त्यसपछि तीन जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
पीडितको जाहेरीपछि प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंको जिम्मा लगाएको एसपी जिसीले बताए ।




