काठमाडौं । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका २ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका २ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।
उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका १ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो ।
साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यसैगरी वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




