महोत्तरी । महोत्तरी र मिथिला क्षेत्रका दाजुभाइ र दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने पर्व सामाचखेवा आज समापन हुँदैछ । कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिन्छ । मिथिलामा परम्परा अनुसार पर्वको समापनको तयारी चलिरहेको छ ।
पर्वको समापनमा दाजुभाइबाट सामा खेलमा प्रयोग हुने विभिन्न माटाका आकृतिहरू जस्तै सतभैया, हात्ती, वृन्दावन, चुगला, सामा र चखेवाका आकृतिहरू गाडिने चलन छ । यस अवसरमा दिदीबहिनीहरूले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् भने दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा प्रदान गर्दछन् ।
सामाचखेवा पर्वका ११ दिनमा मिथिलामा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको पराक्रमको वर्णन गर्दै गीत गाएर मनाउने परम्परा छ । यो पर्व दाजुभाइ र दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ र ‘सामा खेल’ नामले पनि चिनिन्छ । पर्वको मुख्य उद्देश्य भनेको आपसी सद्भाव र आत्मीय स्नेहको आदानप्रदान गर्नु हो ।
पर्वका अन्तिम दिन मध्यरातसम्म दिदीबहिनीहरूले चौबाटोमा समूह बनाएर दाजुभाइको वीरता र पराक्रमको गीत गाउने परम्परा छ । सामाचखेवा पर्वको उत्पत्ति द्वापर युगसँग जोडिएको मानिन्छ ।
पुराण अनुसार, श्रीकृष्णकी छोरी र उनका प्रेमीलाई चक्रधरसँग प्रेम सम्बन्ध राख्दा श्राप दिइएको थियो, जसले गर्दा उनीहरू चरा भएर विचरण गर्न बाध्य भएका थिए । पछि, कृष्ण पुत्र साम्बले तपस्या गरेर उनीहरूलाई श्रापमुक्त गराएका थिए ।
यसै घटनासँग सम्बन्धित गीत र परम्पराले सामाचखेवा पर्वको आरम्भ भएको मानिन्छ । यो पर्व मिथिलामा हजारौं वर्ष पुरानो परम्परा हो जसले दाजुभाइ र दिदीबहिनी बीचको प्रेम र एकता प्रकट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्छ ।




