काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका ५ घर भई काठमाडौं नागार्जुन नगरपालिका ५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका ३ घर भई काठमाडौं टोखा नगरपालिका ८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।
सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




