काठमाडौं । हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका १ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ नयाँ ठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका ४ कोशीपारी ठेगाना भएका काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ नयाँ ठिमी बस्ने २५ वर्षीया वर्षा दर्जी रहेका छन् ।
आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई वर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा वर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको वर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रूपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ । उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको प्रहरीले जनाएको छ ।




