काठमाडौं । आज बाला चतुर्दशी पशुपतिनाथसहित मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ । विशेष गरी पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो । शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए ।
रातभर जाग्राम बस्ने र भोलिपल्ट ब्रम्हामुर्हतमा बागमतीमा बत्ती बगाउने परम्परा छ । यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ । पशुपतिनाथमा आउन नसक्नेहरुले नजिकैका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन् । पञ्चांगका अनुसार शनिबार बिहान १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ । त्यसपछि औँसी तिथि लाग्छ ।




