काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा ठूला राजनीतिक दलहरूले आफ्नो वर्चस्व कायम राखेका छन् । नेपाली कांग्रेसले चार वडाध्यक्ष पदसहित कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) ले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकामा एमालेकी सुलोचनाकुमारी भण्डारी १,७४० मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी पुल्तीसरा शाहीले १,४७४ मत पाउँदा तेस्रो स्थानमा एकीकृत समाजवादीकी जवा शाही ५५३ मतमा सीमित भइन् । दुई वर्षअघि यो पदमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् ।
बझाङको सुर्मा गाउँपालिका ४ मा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी भए । एमालेका लखिचन्द्र बोहराले ४८७ मत पाएका थिए । दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा एमालेका मानसिंह बडालले ३५८ मत पाए ।
डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा ४६८ मत प्राप्त गरी विजयी हुँदा एमालेका देवबहादुर थापा ३०१ मतमा रोकिए । यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द १,१०७ मतसहित विजयी हुँदा एमालेका बहादुर चन्दले ४८७ मत पाए ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकी टीका चौधरीभूल निर्विरोध निर्वाचित भइन् । यस उपनिर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले कुनै पनि स्थानमा विजय हासिल गर्न सकेनन् । आइतबार भएको उपनिर्वाचनमा विभिन्न मतदान क्षेत्रमा मतदाताको सहभागिता ५२ देखि ७६ प्रतिशतसम्म रह्यो ।




