काठमाडौं । आइतबार कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
साँझतिर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली हुने देखिन्छ । यस्तै अन्य क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
गण्डकी प्रदेशका केही स्थानहरू र बागमती तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा एक दुई स्थानमा हल्का वर्षा हुने संकेत छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।




